काठमाण्डौ – आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एक करोड ९४ लाख थान मतपत्र छपाइको काम सुरु भएको छ । निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आज सोमवार प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइको काम सुरु भएको जानकारी दिनुभयो ।

आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेल

मतपत्रमा सबैभन्दा धरै काठमाण्डौको मतपत्र ५६ लहरको हुने र सबैभन्दा कम डोल्पाको मतपत्र १६ लहरको हुने प्रवक्ता शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम जनक शिक्षा सामग्री केन्द्रमा सुरु भएको छ । कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन् । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाण्डौको हुनेछ ।’ निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ । आयोगले चुनावसँग सम्बन्धित विभिन्न प्रशिक्षणहरू देशका विभिन्न ठाउँमा सम्पन्न गरेको पनि जानकारी दिएको छ ।

यसैबीच निर्वाचन आयोगले विभिन्न दल र उम्मेदवारलाई मतदाता नामावली उपलब्ध गराउने शुल्क र प्रक्रिया पनि तय गरेको छ । दलको आधिकारिक पत्रका आधारमा देशैभरका मतदाताको नामावली निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने र यसका लागि सात हजार रुपैयाँसहित निवेदन दिनुपर्नेछ । यस्तै कुनै प्रदेशका मतदाताको नामावलीका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै जिल्लामा दल वा उम्मेदवारको सिफारिसका आधारमा तीन हजार रुपैयाँ तिरेर मतदाता नामावली पाइनेछ भने कुनै पालिकाभरका मतदाताको नामावलीका लागि एक हजार र वडाका मतदाताको नामावलीका लागि पाँच सय रुपैयाँ तिर्नुपर्नेछ । मतदाताको विद्युतीय प्रति मात्रै दिइने आयोगले जनाएको छ ।