मकवानपुर – नेकपा एमालेका पुर्व केन्द्रिय सदस्य तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले महा-गठबन्धन शब्द सुनेर कोहि पनि एमालेका नेता तथा कार्यकता डराउन नपर्ने बताउनुभएको छ । नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको आयोजनामा शुक्रबार हेटौंडा उपमहानगरपालिका स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि पौडेलले हालको गठबन्धनको सरकार आवद्ध दलहरुले चुनावलाई केन्द्रित गर्दै एमालेसँग डराएर गठबन्धनको अगाडि महा शब्द जोड्दैमा एमालेलाई पराजित गर्न नसक्ने बताउनुभएको हो ।

गठबन्धनको दलहरु त्यही हुन् । जनतालाई भुलाउनका लागि महा शब्द थप्दैमा चुनाव जित्ने आशा गरेका छन् । त्यसैले एमालेका कोहि नेता कार्यकर्ता डराउनुपर्दैन ।झ उहाँले भन्नुभयो । ञत्यसैले सबैजना निर्धक्क भएर चुनावी अभियानमा लाग्दा हुन्छ ।झ आसन्न निर्वाचनमा स्थानिय तहमा राम्रो छवि बनाएका भएका नेताहरुलाई स्थान दिएर जीत सुनिश्चित गर्नुपर्ने पनि उहाँको भनाई रहेको थियो । लामो समयदेखी पार्टीमा काम गरेकाले मलाई नै चाहिन्छ भन्ने भावना त्यागेर जीत हासिल गर्नु नै प्रमुख उद्देश्य लिएर आगामी चुनावमा सहभागी हुन पनि उहाँले सबैलाई आव्हान गर्नुभएको थियो ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागमती प्रदेशकि पुर्व सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले महिलाहरुलाई ३३ प्रतिशत सिट सुनिश्चित गरिरहँदा स्थानिय तहको प्रमुख पदहरुमा पनि महिलाहरुलाई स्थान दिनुपर्ने बताउनुभयो । आसन्न निर्वाचनमा हेटौंडाको १९ वडाहरुमध्येमा वडा अध्यक्ष पदमा पनि एमालेको तर्फबाट महिलाको उम्मेदवारी हुनुपर्नेमा उहाँको जोड रहेको थियो ।

नेकपा एमाले केन्द्रिय निर्वाचन विभाग सदस्य अनन्त पौडेलले आसन्न निर्वाचनमा एमालेको विरुद्धमा निर्वाचन आयोगकै मिलेमतोमा षड्यन्त्र हुनसक्ने बताउनुभएको छ । एमालेलाई पराजित गर्दै गठबन्धनलाई जिताउन बारम्बार निर्वाचन आयोगले विभिन्न निर्णय गरिरहँदा आसन्न निर्वाचनमा एमालेका मतदाताहरुलाई मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिने, स्वस्तिक चिह्न बिनाको छाप दिने तथा गठबन्धनका दलले गुन्डा प्रयोग गरेर मतदातालाई तर्साउन सक्ने खतरा भएकाले यस विषयमा सबैजना चनाखो हुन पनि उहाँले निर्देशन दिनुभएको छ ।

नेकपा एमाले बागमती प्रदेश सदस्य रघुनाथ खुलालले आसन्न निर्वाचनका लागि पालिका र वडामा उम्मेदवार प्रस्ताव गर्दा सकेसम्म सहमती गर्दै पार्टीभित्र निर्विरोध रुपमा उम्मेदवार चयन गर्नुपर्ने बताउनुभयो । हामी बिचमा आपसी मनमुटाव हुन नदिइ वडा कमिटीको निर्णयलाई स्विकार गर्दै व्यक्ती भन्दा पनि पार्टीलाई जिताउने गरि सबैले सघाउनुपर्ने उहाँको धारणा थियो ।

एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले कार्यक्रममा सहभागीहरुलाई आसन्न निर्वाचनका लागि तयारी सुरु गर्न आव्हान गर्नुभएको छ । यस पटक धेरै भन्दा धेरै स्थानिय तह, वडा तहहरुमा जीत दिलाउनका लागि उम्मेदवारहरु वडाबाट नै सिफारिस भएर आएमा मनमुटाव नहुने उहाँको भनाई रहेको छ । यस अघि जिल्ला कमिटीले उम्मेदवार तोक्ने गरेको भएको पनि यस पटक वडाबाट नै सहमती गरेर पालिका र त्यहाँबाट जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सिफारिस गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसका लागि उहाँले हेटौंडाका १९ वटै वडामा उम्मेदवार प्रस्ताव गर्नका लागि वडा कमिटीको बैठक बस्ने मिती र पार्टी सहजकर्ताहरु पनि घोषणा गर्नुभएको छ । वडाबाट नाम सिफारिस भएर आउँदा सकेसम्म १ वडा अध्यक्ष र ४ जना सदस्य पदकै लागि त्यति नै जना सहमतिमा आउन सके सहज हुने उहाँले बताउनुभयो । यदि धेरै उम्मेदवारको आकांक्षी भएमा वडा अध्यक्ष पदका लागि १ जना महिला सहित बढिमा ३ जनाको मात्र नाम सिफारिस गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । कार्यक्रममा जिल्ला सचिवालय सदस्य मदन दाहालले चुनावी प्रकृया सम्बन्धी जानकारी दिनुभएकाे थियाे ।













