मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ६२ औं बोर्ड बैठक शुक्रबार बसेको छ । हरेक महिना नियमित रुपमा बस्दै आएको बोर्ड बैठक सरकारद्धारा जारी लकडाउनका कारण दुईमहिना पछि आज बसेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा बितेका दुई महिनामा भएगरेका गतिविधिका बारेमा छलफल गर्नुका साथै अहिलेसम्म भए गरेका कृयाकलापहरुको समिक्षा गरिएको छ । बैठकमा जिसस प्रमुख खुलालले बिशेष गरि वितेको दुई महिनामा कोभिड–१९ को नियन्त्रणका सन्र्दभमा भएगरेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । लकडाउनका समयमा समन्वय र सहजीकरणका कामहरुका साथै अन्य विभिन्न गतिविधिहरु भएको बताउनुभयो ।
प्रमुख खुलालले कोरोना महामारी रोकथाम तथा नियन्त्रण कै लागि जिल्ला स्तरमा कोभिड आपतकालीन कोष स्थापना गरिएको जसमा हालसम्म करीब साढेँ ५ लाख रुपैयाँ जम्मा भएको समेत जानकारी दिनुभयो । कोषमा ईन्द्रसरोवर गाउँपालिकाले २ लाख, हेटौंडा स्कुल अफ म्यानेजमेन्टले २ लाख, गोर्दा ब्रुअरीले १ लाख, यति पेन्ट्सले ५१ हजार जम्मा भएको बताउनुभयो । कोषबाट जिल्लामा सञ्चालन हुने एम्बुलेन्सको पार्टेसन, सुरक्षा निकाय परिचालनमा तथा रातोमाटे स्थित गाडी सेनिटाइजर गर्ने टनेलमा केमिकल खरिदलगायतमा हालसम्म १ लाख ४० हजार रुपैयाँ खर्च समेत भएको बताउनुभयो ।
त्यस्तै उहाँले कोभिड–१९ का सम्बन्धमा जिससबाट विभिन्न आव्हान गरिएको, राहत वितरण तथा व्यवस्थापनलगायतका सन्र्दभमा जिल्लाका स्थानीय तहहरुमा अनुगमन गरिनुका साथै स्थानीय तहका समस्या समाधानका लागि सहजीकरण गरिउको जानकारी दिनुभयो । साथै जिल्लामा विभिन्न उद्योग, कृषि उपज सञ्चालन सम्बन्धी निर्देशिका तयार पारेर लागु गरिएको, मामाघर, मानवसेवा आश्रम, दिव्यसेवा निकेतन, ओमबृद्ध आश्रम जस्ता संस्था तथा हेटौंडा–४ स्थित आइसोलेशन वार्डमा खाद्यान्न सहयोग गरिएको प्रमुख खुलालले बताउनुभयो । उद्योग परिसंघ बागमती प्रदेश र उद्योग संघ मकवानपुरद्धारा प्राप्त राहत सामग्रीबाट ती संस्थाहरुमा साथै जिल्लाका स्थानीय तहहरुलाई राहत उपलब्ध गराईएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु गणेश कुमारी श्रेष्ठ, देवराज रिमाल, सिता अधिकारी, सानु कान्छी स्याङतान, सरिता विश्वकर्मा, निमित्त समन्वय अधिकारी भीमलाल महर्जनलगायतको सहभागिता थियो । बैठकले मकवानपुर जिल्ला पनि कोभिड–१९ को उच्च जोखिममा रहेको भन्दै सुरक्षित रहन, आफु बच्न र अरुलाई पनी बचाउँन आ–आफ्नो स्थानीय तहमा निगरानी गर्न आग्रह समेत गरेको छ ।