मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका पदाधिकारीहरुले जिल्लामा स्थापना भएको कोरोना आपतकालीन कोषमा रकम प्रदान गर्नुहुने भएको छ । शुक्रबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ६२ औं बोर्ड बैठकले कोरोना आपतकालीन कोषमा रमक प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले कोषमा जिसस प्रमुखबाट १५ हजार, उपप्रमुखबाट १० हजार, सदस्यहरुबाट ५ हजारका दरले ३५ हजार ६० हजार तथा स्वकिय सचिव आशाकाजी श्रेष्ठ र प्रेस संयोजक बिवश अधिकारीबाट ५ हजारका दरले जम्मा ७० हजार रुपैयाँ जम्मा गरिएको प्रमुख खुलालले जानकारी दिनुभयो । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्तरमा स्थापित कोषमा हाल सम्म करीब साढेँ ५ लाख रुपैयाँ जम्मा भएको समेत उहाँले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले जिससको मौजदात कोषबाट विभिन्न पालिकालाई रकम उपलब्ध गराउने निर्णय गरेको छ । कोषबाट ईन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ४ र ५ को वडा कार्यालय निर्माण तथा वडा नम्बर ५ मा स्वास्थ्य संस्थाको भवन निर्माणमा रकम उपलक्ध गराउने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो । त्यस्तै कोषबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालय र मनहरी गाउँपालिका स्थित मोतिदेवी सामुदायिक भवन निर्माणकालागि समेत रकम उपलब्ध गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । साथै बैठकले मकवानपुरका १० वटै स्थानीय तहमा चालु आर्थिक वर्षमा भएकाका कामहरू जस्तै याेजनाहरू, सुशासनका क्षेत्र, सामािजक क्षेत्र, राजस्व संकलन तथा ढुंगा गिट्टी सम्बन्धी अनुगमनमा जाने निर्णयसमेत गरेकाे उहाँले जानकारी दिनुभयाे । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु गणेश कुमारी श्रेष्ठ, देवराज रिमाल, सिता अधिकारी, सानु कान्छी स्याङतान, सरिता विश्वकर्मा, निमित्त समन्वय अधिकारी भीमलाल महर्जनलगायतको सहभागिता थियो ।