मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटी सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले आगामी स्थानीय तहको निर्वाचनको लागि पार्टीलाई पहिलो बनाउने गरी उम्मेदवार छनोट गर्ने बताउनुभएको छ । आज (शुक्रबार) नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको तेस्रो पुनः बैठक तथा प्रशिक्षक कार्यक्रममा बोल्दै रानाले स्थानीय तहको उम्मेदवार छनोट गर्दा पार्टीलाई जिताउने खालको उम्मेदवारी छनोट गर्ने बताउनुभयो ।

पालिकाको आगामी बैठकबाट उम्मेदवार छनोट गर्ने बताउँदै अहिले नै उम्मेदवारको विषयमा चर्चा परिचर्चा नगर्न आग्रह समेत गर्नुभयो । एमाले शान्तिपूर्ण बाटोबाट आफ्नो सक्रियताले जनताको मन जितेर काम गर्ने पार्टी रहेको उहँँले बताउनुभयो । एमाले मनहरी गाउँपालिका अध्यक्ष नवीन सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य एकराज उप्रेती, बागमती प्रदेश सदस्य श्यामशुन्दर ढकाल, जिल्ला कमिटी सदस्य मदन दाहाल, जिल्ला कमिटी सदस्य एवम् मनहरी इन्चार्ज हेमलाल उप्रेती, युवा संघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेती, एमाले नेता जयराम अर्याललगायतको अतिथ्यता रहेको थियो ।











