हेटाैंडा । बागमती प्रदेशसभाको आज बस्ने भनिएकाे बैठक बुधबार (भाेली) का लागि सारिएकाे छ । अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारण बुधबार अपराह्न ४ बजे बस्ने भएको हाे ।
प्रदेशसभा सचिवालयका अनुसार सोमबार साँझ बसेको प्रदेशसभाको बैठकमा प्रदेश चिट्ठा विधेयकसम्बन्धी विषयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित फिर्ता पठाउनुभएको पूर्णपाठ प्रदेशसभाका प्रत्येक सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलले पटक पटक संसद् अवरुद्ध गरी लगातार नाराबाजी गरिरहेकाले बैठक स्थगित गरी आज २ बजेका लागि सारिएको थियो ।
हिजै साँझ सरकार पक्ष र प्रतिपक्ष दलबीच सहमतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेकाले आज वार्तालाप गरी सत्तापक्ष र प्रतिपक्षबीच सौहार्द्रपूर्ण वातावरणमा सहमतिको कायम भएअनुसार आजको सट्टा बुधबार अपराह्न ४ बजे बस्ने सहमति भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बताउनुभयो ।
हिजै साँझ बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश चिट्ठा विधेयकसम्बन्धी पुनः विचार गरियोस् भनी प्रदेशसभाको बैठकमा प्रस्ताव टेबुल गरे लगत्तै प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गरिरहेको थियो ।










