हेटाैंडा – वैशाख ३० गतेमा हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु तोकिएको छ । निर्वाचन आयोगले मकवानपुरको १० वटै स्थानीय तहका लागि निर्वाचन अधिकृतहरु ताकिएको हो ।
निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठ रहनु भएको छ । उहाँलाई हेटौंडा उपमहानगर तोकिएको छ भने थाहा नगरमा जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईलाई तोकिएको छ । मकवानपुरगढी गाउँपालिकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय वाग्मती प्रदेशका उपसचिव नारनप्रसाद पोखरेल, बकैया गाउँपालिकामा जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी आनन्दराज पोखरेल रहनु भएको छ ।
यस्तै इन्द्रसरोवर गाउँपालिकामा गृह मन्त्रालयका उपसचिव मुरारी वस्ती, कैलाश गाउँपालिकामा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरी पौडेल, वाग्मती गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाका अधिकृत हरिप्रसाद उपाध्याय, भीमफेदी गाउँपालिकामा सामाजिक विकास मन्त्रालयका अधिकृत रुद्रहरी भण्डारीलाई निर्वाचन अधिकृत तोकिएको आयोगले जनाएको छ । यस्तै मनहरी गाउँपालिकामा शिक्षा विकास निर्देशनालय मकवानपुरका अधिकृत पुर्णबहादुर दर्जी र राक्सिराङ गाउँपालिकामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपसचिव सागर मिश्रलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृतहरु तोकेको छ ।











