हेटौंडा–बागमती प्रदेश सरकारले देशकै ठूलो औद्योगिक क्षेत्र बनाउने भएको छ । प्रदेश सरकारले मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुर गढीमा देशकै ठूलो औद्योगिक क्षेत्र निर्माण गर्ने मुख्य योजना साथ अगाडि बढिरहेको छ ।
आफ्नो पहिलो नीति तथा कार्यक्रममा पनि समावेश गरिएको यो योजना प्रदेशको मुख्य योजनामा परेको प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले १२ करोडको लागतमा २ स्थानमा औद्योगिक क्षेत्र निर्माण गर्ने कार्यको सुरुवात चालु वर्षदेखि हुने मन्त्रालय उद्योग शाखा प्रमुख हेम पाठकले जानकारी दिनुभयो ।
६ हजार रोपनीमा औद्योगिक क्षेत्र
बागमती प्रदेश सरकारले ६ हजार रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र सम्भवतः देशको ठूलो औद्योगिक क्षेत्र हुने पाठकले बताउनुभयो । प्रदेश सरकारले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा लिएको उक्त औद्योगिक क्षेत्रले प्रदेशको विकासको लागि ठूलो भूमिका निर्वाह गर्नेछ । यस्तै, मकवानपुरको मनहरीको ज्यामिरेदेखि सुनाचुरीसम्म बन्ने औद्योगिक क्षेत्रको सुरक्षाका लागि राप्ती खोलामा तटबन्ध गरिने भएको छ । त्यस्तै औद्यौगिक क्षेत्रको अघिल्लो वर्ष सम्भाव्यता अध्ययन भई यस वर्ष डिपिआर तयार भएको उहाँले जाकारी दिनुभयो । प्रदेशकै ठूलो परियोजनालाई अहिलेको सरकारको ५ वर्षको अवधिमा तयार गरी सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयले जनाएको छ । औद्योगिक क्षेत्रमा ठूला उद्योगहरू धेरै हुने जनाइएको छ ।
२ हजारले रोजगारी पाउने
बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निजी क्षेत्रसँगको साझेदारीमा मनहरी औद्योगिक क्षेत्रमा कागज कारखाना खोल्ने भएको छ । कागज कारखाना स्थापना गर्नका लागि आवश्यक कच्चा पदार्थ चितवन राष्ट्रिय निकुञ्जको घाँस प्रमुख हुने बताइएको छ । निकुञ्जमा खेर जाने घाँसको उपयोग गरिने र कागज उद्योगका लागि छुट्टै घाँस खेती पनि गरिने बताइएको छ । प्रदेश सरकारले कागज उद्योग सञ्चालनमा ल्याउँदा २ हजार जनाका लागि रोजगार सिर्जना हुने आफ्नो कार्य्विधिमा पनि उल्लेख गरेको छ । औद्योगिक क्षेत्रले धेरै बेरोजगारहरू रोजगारी पाउनेछन् । त्यस्तै, मन्त्रालय विभिन्न तालिमहरू प्रदान गर्दै युवाहरूलाई सीपमूलक तालिमहरु पनि प्रदान गर्दै आएको छ । बागमती प्रदेश सरकारको क्षेत्रभित्र हालसम्म ६ हजार उद्योगहरू सञ्चालनमा छन् ।
थाहाखबरबाट