मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको पत्रकार पेन्सन कोषमा यसवर्ष पनि सहयोग गरेको छ । गतवर्षदेखि सञ्चालनमा रहेको कोषमा अघिल्लो वर्ष १० लाख सहयोग गरेको उपमहानगरपालिकाले योवर्ष ५ लाख सहयोग गरेको हो ।
पत्रकार महासंघले २० वर्ष काम गरेका ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक पेन्सन दिन कोष स्थापना गरेको छ । महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई मासिक ४ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको समेत एकवर्ष भइसकेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका पूर्वअध्यक्ष समेत रहनु भएका नवराज शर्माले गत वर्षदेखि पेन्सन सेवा लिइरहनु भएको छ ।
महासंघ मकवानपुर शाखाले साधारणसभाबाट पेन्सन कोष सम्बन्धी कार्यविधि संशोधनसहित पारित गरेको छ । उपमहानगरपालिकाले मकवानपुर जिल्लाका एकसय ६४ जना पत्रकारको पाँच लाख रुपैयाँका दरले दुर्घटना वीमा गरिदिएको छ । वीमावापत् तिर्नुपर्ने प्रिमियम रकम एक लाख २२ हजार २ सय ७० रुपैयाँ बराबरको चेक समेत महासंघलाई हस्तान्तरण गरिएको मेयर हरिबहादुर महतले बताउनुभयो । गत वर्षदेखि उपमहानगरपालिकाले मकवानपुरका पत्रकारहरुका लागि दुर्घटना वीमा गर्न सुरु गरेको हो ।