मकवानपुर – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार मकवानपुरको जनसंख्या ४ लाख ६१ हजार ५३ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको जनगणनाको नतिजाअनुसार मकवानपुरमा पुरुषको संख्या २ लाख २८ हजार ४७२ र महिलाको संख्या २ लाख ३२ हजार ५८१ रहेको छ ।
२०६८ सालको जनगणना अनुसार मकवानपुरको जनसंख्या ४ लाख २० हजार ४७७ रहेकोमा हाल शून्य दशमलव ८८ प्रतिशतले वृद्धि भई ४ लाख ६१ हजार ५३ पुगेको जनाईएको छ । जनगणनाको प्रारम्भिक नतिजामा मकवानपुरमा घर संख्या ९६ हजार २१४ र परिवार संख्या १ लाख ६ हजार ६०६ रहेको उल्लेख छ । सार्वजनिक नतिजाअनुसार मकवानपुर जिल्लाको लैंगिक अनुपात ९८ दशमलब २३ हुँदा परिवारको औसत आकार ४ दशमलब ३२ र जनघनत्व १ दशमलव ९० रहेको छ । जनगणनामा १४ हजार ८२० जना पुरुष र ४ हजार ७२६ जना महिला गरी कुल १९ हजार ५ सय ४६ जना अनुपस्थित रहेको सार्वजनिक जनगणनाको नतिजामा छ ।
जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या हेटौंडा उपमहानगरपालिकामा र सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकामा रहेको छ । प्रारम्भीक नतिजाअनुसार हेटौंडाको कुल जनसंख्या १ लाख ९५ हजार ९५१ र ईन्द्रसरोवर गाउँपालिकाको कुल जनसंख्या १३ हजार ७५८ रहेको छ । यस्तै स्थानीय तहमध्ये क्रमश मनहरी गाउँपालिकाको जनसंख्या ४७ हजार १४४, बकैया गाउँपािलकाको जनसंख्या ४० हजार ६७१, थाहा नगरपालिकाको जनसंख्या ३९ हजार १६३, बागमती गाउँपालिकाको ३० हजार ६२५, राक्सिराङ गाउँपालिकाको २५ हजार ८७१, मकवानपुरगढी गाउँपालिकाको २४ हजार २५२, कैलाश गाउँपािलकाकाको २१ हजार ९९२ र भीमफेदी गाउँपालिकाको २१ हजार ६२६ रहेको तथ्याङकमा उल्लेख छ । सार्वजनिक जनगणनाको नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।