मकवानपुर – बागमती प्रदेश सभाको रिक्त दुई वटा समितिको सभापति पदको निर्वाचन आगामी माघ १७ गते सोमबार हुने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै रिक्त रहेको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिका लागि सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
अर्थ तथा विकास समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री हुनुभएपछि गत बैशाखदेखि नै सभापति पद रिक्त थियो भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल हाल सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री हुनुभए पछि पद रिक्त रहेको छ । गत बैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ । अर्थ तथा विकास समितिका सदस्यहरु सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहनुभएकोले उहाँहरु निर्वाचनमा सहभागी हुन हुन्न ।
प्रदेश सभा सचिवालयले समितिहरुको सभापति पदको प्रस्ताव आइतबार अपरान्ह ५ बजेसम्ममा दर्ता गराउने समय तय गरिएको छ । अर्थ तथा विकास समितिको सभापति पदको निर्वाचन सोमबार मध्यान्ह १२ बजे र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको छ ।