मकवानपुर– हेटौंडा बजारक्षेत्रमा आईतबारदेखि डिस–ईन्फेक्सन छर्किन सुरु गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यून गर्न हेटौंडा उपमहानगरपालिकाले डिस इन्फेक्सन छर्न सुरु गरेको हो ।
आज बिहान हेटौंडा बजारको मुख्यक्षेत्रमा सात हजार लिटर डिस इन्फेक्सन छरिएको हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । उपमहानगरपालिकाले मानव स्वास्थ्यका लागि जोखिम नहुने डेक्साइन नामक डिस इन्फेक्सन छरेको कार्कीले बताउनुभएको छ । एक सय लिटर पानीमा आधा केजीका दरले सात हजार लिटर पानीमा ३५ केजी डेक्साइन प्रयोग भएको बताइएको छ । हेटौंडा उपमहानगरपालिका रहेको पुरानो दमकलको प्रयोग गरी डिस इन्फेक्सन छर्ने काम भएको छ । पहिलो चरणमा बजारको प्रमुख क्षेत्र छरिएको उल्लेख गर्नुहुँदै अब कहाँ कहाँ कसरी छर्कने भन्ने विषयमा उपमहानगरपालिकाको सल्लाह बमोजिम काम गरिने कार्कीले बताउनुभएको छ । भिडभाड हुने क्षेत्रमा किटनासक औषधि छर्कदा कोरोना भाईरस नष्ट नगरे पनि अन्य किटाणु मारेर वातावरण सफा गर्न सहयोग पुग्ने स्वास्थ्य संयोजक कार्कीले जानकारी दिनुभयो ।