मनहरी– पश्चिम मकवानपुरको मनहरीमा विभिन्न सामाजिक र राजनीतिक अभियानमा सक्रिय रहनु भएका पदमबहादुर तितुङले नेपाली काँग्रेस परित्यागको घोषणा गर्नु भएको छ । तितुङले पुस २० गते प्रेस विज्ञप्ती जारी गरी काँग्रेसभित्र हुर्किरहेको अराजकता र घृणित व्यवहारका कारण आफूले लामा समय बिताएको पार्टी त्याग्नु परेको उल्लेख गर्नु भएको छ । उहाँले नेपाली काँग्रेस परित्याग गरेपनि अर्काे दल रोज्नु भएको छैन । ‘आजैका मितिबाट मैले नेपाली काँग्रेसको क्रियाशील सदस्यता र सबै जिम्मेवारी परित्याग गरी स्वतन्त्र रहेको घोषणा गर्दछु’, तितुङद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।
उहाँ पर्सा राष्ट्रिय निकुन्ज अन्तर्गतको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल) का अध्यक्ष एबम् मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका महासचिव हुनुहुन्छ । केही दिनअघि मनहरी मध्यवर्ती उपभोक्ता समितिको नेतृत्व चयनका क्रममा अध्यक्षका प्रत्यासी बन्नु भएका तितुङ सोही पार्टी समर्थित अर्का उम्मेदवार सीताराम अर्यालसँग पराजित हुनु भएको थियो । आफूलाई पराजित गर्न नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, क्षेत्रीय सभापति रन्जन कालाखेती र गाउँ इकाई सभापति प्रकाश बर्ताैलाको प्रत्यक्ष संलग्नता भएको उहाँले आरोप लगाउनु भएको छ । १३ जना मात्रै मतदाता रहेको निर्वाचनमा हरेक मतदातालाई फोन गरेर भोट नहाल्न निर्देशन दिएर बानियाँले आफ्नो स्वार्थसिद्ध गर्न लागिपरेको उहाँको भनाई छ ।
आफू २०३८ सालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध रही लोकतन्त्र र बहुदलीय व्यवस्थाका पक्षमा सदैव लागिपरेको स्मरण गराउँदै उहाँले विज्ञप्तीमा भन्नुभएको छ–‘परिवारका सदस्यहरु यो अबधिमा तत्कालीन पञ्चायतकालीन जनपक्षीय जनप्रतिनिधि, बहुदलकालमा जिल्ला विकास समितिका क्षेत्रीय सदस्य तथा गणतन्त्रप्राप्तिपछि पनि यो क्रमले निरन्तरता पाइरहेको दृष्टान्त छ ।’ विज्ञप्तीमा उहाँले अस्वस्थ ढंगले गरिने हर्कतहरुले पार्टी कार्यकर्ताहरुको संरक्षढा गर्ने, हौसला थप्ने र अघि बढाउने काममा नेताहरु लाग्नुपर्ने भन्दै पार्टीले त्यसो नगरी निश्चित स्वार्थपूर्तिका लागि सर्बाेच्च अभिभावक ठानिएका नेताहरुबाटै घृणित व्यवहार सहनु परेको उल्लेख गर्नु भएको छ । विज्ञप्तीको अन्त्यमा गलत कार्यको विरोध सदैब गरिरहने प्रण गर्दै आफूले गरेको निर्णयबाट निराश नहुन सहयोगी, शुभचिन्तक र आफन्तजनहरुसँग आग्रह गर्नु भएको छ ।