हेटौंडा – नेपाली कांग्रेस मकवानपुरको सभापतिका उम्मेदवार बुद्ध लामाले सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । लामाले हेटौंडा–१० बुद्धचोकस्थित भीमसेन मार्केटमा मंगलबार सम्पर्क कार्यालय स्थापना गर्नुभएको हो ।
नेपाली कांग्रेस मकवानपुरको यही पुस २७ गते जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अधिवेशन नजिकिएसँगै आफ्नो उम्मेदवारीको प्रचारप्रसारका साथै पार्टीका अग्रजसँग आवश्यक सल्लाह लिन तथा सहयोगीसँग आवश्यक छलफलका लागि सम्पर्क कार्यालय स्थापना गरिएको लामाको भनाइ छ । लामा नेपाली कांग्रेस मकवानपुरको सचिव हुनुहुन्छ । पार्टीमा नीति, विधि र सिद्धान्तको राजनीतिका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्नुहुँदै लामाले भन्नुभयो, ‘पार्टीमा निष्ठा र ईमान्दारितासाथ काम गर्न, मुलुकको प्रमुख राजनीतिक दललाई जिल्लामा अब्बल बनाउनकै लागि मेरो उम्मेदवारी रहनेछ ।’
विद्यार्थी जीवनमै रहँदा २०३६ सालको राजनीतिक आन्दोलनमा नेपाली कांग्रेसका नेताहरु घाइते हुँदा उपचारमा खटिएर राजनीतिमा प्रवेश गर्नुभएका लामा २०४८ सालमा पार्टीको हेटौंडा–४ को वडा सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो । २०५४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार बन्नु भएका लामा २०५६ मा पार्टीको क्षेत्रीय सदस्य हुनुभयो भने पार्टीको जिल्ला सहसचिवको जिम्मेवारी पनि निर्वाह गर्नुभयो । २०६४ सालमा नेपाली कांग्रेस मकवानपुरको कोषाध्यक्ष हुनुभएका लामा २०७२ सालमा सम्पन्न नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट जिल्ला सचिव निर्वाचित हुनुभएको हो ।