हेटाैंडा– हरेक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आजदेखि सुरु हुँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको पूजा र आकाशदीप दान गरिन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दान समेत गरिन्छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने राति नै मनाइएको छ ।