हेटाैंडा – राक्सिराङ–८ स्थित देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शनिबार उद्घाटन गरिएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले देवीटार आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेका हुन् ।

राक्सिराङको १, ३, ४, ६, ८ र ९ नम्बर वडामा स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि बजेट प्राप्त भएको थियो । जसमध्ये ८ नम्बर वडासहित ९ र ३ नम्बर वडामा भवन निर्माण सम्पन्न भइसकेको छ । ‘बाँकी ४ वटा वडामा पनि स्वास्थ्य केन्द्रको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । अबको केही समयमा नै नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु गर्छौंं ।’ गाउँपालिका अध्यक्ष मल्लले भने । देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गर्दै अध्यक्ष मल्लले आफूहरु जनप्रतिनिधि भएर आइसकेपछि गाउँमा स्वास्थ्यको क्षेत्रमा धेरै सुधार गरेको दावी गरे । ‘गाउँका मानिसहरुले सिटामोलसमेत पाउँदैनथे, कोही सुत्केरी ब्यथाले च्यापेर त कोही सामान्य चोट लागेका बिरामीको पनि ज्यान जाने अवस्था हुन्थ्यो ।’ अध्यक्ष मल्लले भने–‘अहिले वडा वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिइरहेका छौं । अझै यो सेवा विस्तार गर्ने योजनामा छौं ।’ ९ वटा वडामा हाल १० वटा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । जसमध्ये ४ वटा केन्द्रमा सुत्केरी सेवासमेत सञ्चालनमा छ । चैनपुरमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी १० बेडको अस्पताल सञ्चालन अन्तिम चरणमा छ । गाउँपालिकाको केन्द्र चैनपुरमा डाक्टरको सेवासमेत उपलब्ध भइसकेको छ ।
गाउँपालिकामा करिब सवा दुइ करोडको लागतमा पक्की स्वास्थ्य संरचना निर्माण भएको छ । गत वर्ष ठेक्का लागेर निर्माण सुरु भएका ६ वटा स्वास्थ्य सेवा केन्द्रको भवनमध्ये केहीको निर्माण सम्पन्न भइसकेको छ भने केहीको निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले राक्सिराङका ६ वटा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको लागि प्रति भवन ३८ लाख रुपैयाँका दरले २ करोड २८ लाख रुपैयाँ छुट्याएको थियो । राक्सिराङ–८ का वडाध्यक्ष रामकृष्ण प्रजाको अध्यक्षतामा भएको देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रकी ईञ्चार्ज रजनी थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न एक रोपनी जग्गा दान गर्ने सिताराम स्याङ्तान र समयमै भवन निर्माण सम्पन्न गरेको भन्दै निर्माण कम्पनीका प्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।