मकवानपुर । बागमती प्रदेशसभाको सातौ वार्षिकोत्सव शुक्रबार (आज) मनाईएको छ । मुलुकको संघीय संरचना अन्तर्गत बागमती प्रदेश सभाको पहिलो अधिबेशन शुरू भएको मिति माघ १८ को अबसर पारेर प्रदेशको राजधानी हेटौंडामा शुक्रबार प्रदेशसभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सभाध्यक्षता एवम् प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाले यथेष्ट कार्यसुची पाउनुपर्ने र जनसरोकारका विषयहरू प्रदेश सभामा गुन्जिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो –‘कानुनहरू छिटो, छरितो, चुस्त, दुरुस्तरूपमा निर्माण हुनुपर्दछ तथा बिधेयक र अध्यादेशहरूमा हुनसक्ने सम्भाबित त्रुटिहरूप्रती चनाखो हुनुपर्दछ । रास्ट्रियता र जनजिबिकाको मुद्दामा पार्टीगत आस्थालाई सभाको गेटबाहिरै छाडेर आफुभित्रको स्व प्रस्तुत हुनुपर्दछ ।’ समस्यालाई आपसी सहमतिमा सुल्झ्याउनुपर्छ अन्यथा प्रदेश सभालाई केवल झैझगडाको थलोको अपजसको भारी बोक्नुपर्ने हुने उहाँले बताउनुभयो । राजनीतिको चश्मा फुकाली महत्वपूर्ण आम जनहितका मुद्दाहरूमा आपसी मेलमिलाप र समझदारीको सन्देश जनतामा पुर्याउनुपर्ने उहाँले बताउनुभयो ।

प्रदेश प्रमुख देबकोटाले प्रदेश सभाको दोस्रो कार्यकालले पुराना अनुभबबाट पाठ सिकी अग्रगमनको दिशामा बढ्न यथेष्ट सिकाइ प्रदान गरेको तर, अझै पनि प्रदेशले संघसंग काम ,कर्तब्य र अधिकार लगायतका विषयमा गुनासो गरेको भन्दै गुनासो अनि यो र त्यो कुराको बहानाबाजी गर्ने छुट नरहेको बताउनुभयो । उहाँले प्रदेश संरचनाको बारेमा टीकाटिप्पणी भैरहदा शब्दले जवाफ दिनुभन्दा सटिक कार्यसम्पादन मार्फत् प्रदेश सभा र प्रदेश सरकारको औचित्य पुष्टी गर्न सक्नुपर्ने बताउनुभयो । प्रदेशको समग्र बिकास र आर्थिक समृद्धिमा केन्द्रित हुन उहाँले आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा उपसभामुख अप्सरा चापागाई, मुख्यमन्त्री बहादुर सिंह लामा, पूर्व सभामुख सानुकुमार श्रेष्ठ, संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरु लगायत प्रदेश सरकारका मन्त्री र सांसद्हरुको उपस्थिति रहेको थियो ।