मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे (१५औं) अधिवेशन शुक्रबार (आज) बाट सुरु भएको छ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशन बैठकको पहिलो दिन आज प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
बैठकमा दलका नेताहरुले प्रदेश सभा नागरिकका समस्याका बारेमा छलफल गर्ने र समाधान गर्ने थलो भएको भन्दै प्रदेशको अधिकार र प्रदेशको विकासमा साझा धारणा बनाउँदै एकमत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
बैठकमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारले नागरिकको आवश्यकता र माग पुरा गर्न काम गरिरहेको बताउनुभएको छ । उहाँले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माणका लागि दुई ठुला दल मिलेर सरकार गठन भएको भन्दै सरकारले लोकप्रियता नभइ आवश्यकताको आधारमा काम गरिरहेको बताउनुभयो । मुख्यमन्त्री लामाले विपद्बाट प्रभावित नागरिकको लागि राहत वितरण गरिएको साथै विपद् प्रभावित क्षेत्रको पुनः निर्माणको काम तिव्रता दिइएको बताउनुभएको छ ।
बैठकमा प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले दुई वटा ठुला दल एमाले कांग्रेसको महागठबन्धन बनेदेखि देशमा अशान्ति भइरहेको बताउनुभएको छ । वर्तमान सरकारका साझेदारहरु गठबन्धन टिक्छ वा टिक्दैन भनेर आतंकित बनिरहेको उहाँले बताउनुभयो । प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहुनु भएका नेता जम्कट्टेलले अहिलेको सरकारमा भ्रष्टाचारीलाई जोगाउने, सार्वजनिक सम्पत्ति हड्प्ने र दमन गर्ने नियत रहेको बताउनुभयो ।
बैठकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले राजनीतिक स्थिरताको काम वर्तमान सरकारले गरिरहेको बताउनुभएको छ । उहाँले वर्तमान सरकार २०८४ सम्म निरन्तर जानेमा शंका नरहेको भन्दै केही विदेशी शक्तिहरु नेपालाई अस्थिरता तर्फ धकेल्न अग्रसर रहेको बताउनुभयो । यो अधिवेशन नयाँ कानुन बनाउन, एकताको अधिवेशन बन्ने, समृद्ध प्रदेश बनाउनेतर्फ उन्मूख हुने उहाँले बताउनुभयो ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धब थापाले यो अधिवेशनले प्रदेश र प्रदेशका नागरिकको पक्षमा काम गर्न सक्षम हुने विश्वास व्यक्त गर्दै दुई ठुला दलको सरकार बनेपछि नागरिकले धेरै अपेक्षा गरेपनि सरकारले काम गर्न नसकेको बताउनुभयो । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले प्रदेश सरकारको नेतृत्व र नीतिमा कमजोरी र प्रशासनिक अक्षमता देखिएको बताउनुभयो । उहाँले भन्दै मन्त्रालय विभाजन अनावश्यकभएको, फजुल खर्च बढेको, स्रोतको दुरुपयोगभएको बताउनुभयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले प्रदेशको औचित्यमाथि नै प्रश्न उठाउने अवस्था आउनेमा अहिलेसम्ममा सत्तामा जाने दलनै जिम्मेवार रहेको बताउनु भएको छ । नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान वज्राचार्यले संघीयताका कारण जनजाति समुदायले अधिकार पाएको बताउँदै नागरिकको भाषासम्बन्धी अधिकार पाएको बताउनुभयो । प्रदेश सभाको बैठक माघ २३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।