मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोराना भाइरस(कोभिड–१९) बाट बच्न आ–आफ्नो ठाउँबाट सबैलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयद्धारा कोरोनाका कारण हुने संक्रमण रोकथाम सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख खुलालले अहिले नै डराउनुपर्ने अवस्था नरहेपनि सावधानी अपनाउन र सचेत रहन आग्रह गर्नुभयो ।
प्रमुख खुलालले सचेतना र जनचेतनाले नै जोखिम कम गर्ने माध्यम भएकोले कोरोना सम्बन्धी सचेतना फैलाउन र सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सार्वजनिक कार्यक्रमहरुमा जाँदा सावधानी अपनाउन र सभा, सम्मेलन, गोष्ठी, सेमिनार र उत्सव प्रकृतिका कार्यक्रम नगर्न समेत आग्रह गर्नुभएको छ । उहाँले हातबाट यो भाइसर चाँर्ड फैलने हुनाले हात नमिलाउन पनि आग्रह गर्नुभयो ।
९ नम्बर वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक भोला चौलागाईले कोरोना भाईरसका बारेमा साथै यसबाट बच्ने उपाएका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा संयोजक चौलागाईले कोरोनाबाट बच्न सरसफाईमा ध्यान दिनुका साथै आत्मबल बलियो बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा ९ नम्बर वडा सदस्य सुकराम केसी, राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधिलगायत विभिन्न संघ संस्थाका प्मुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।