मकवानपुर– अस्पतालमा आधारीत लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन (ocmc) जिल्ला सल्लाहाकार समितिको बैठक बिहीबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् सल्लाहाकार समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बैठक बसेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा जिल्लाका सबै पालिकाका उपप्रमुखहरु सदस्य रहने गरि गठन भएको सल्लाहाकार समितिको बारेमा जानकारी दिने उदेश्यका साथ बिहीबार बैठक बसेको हो । बैठकमा बोल्दै अध्यक्ष खुलालले एकद्धार संकट व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । स्थानी तहमा कुनै घटना भएमा केन्द्रसंग समन्वय गर्ने तथा त्यसको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले लैङ्गिक हिंसा पिडितलाई निशुल्क स्वास्थ्य उपचार सेवा, मनोपरामर्श सेवा, आवश्यक सुचना, सरोकारवाला संघ संस्थासंग समन्वय र सहकार्य गर्ने तथा रेफर गर्ने लगायतका काम गर्ने हुनाले स्थानीय तहहरुमा त्यस्ता घटनाहरु भएमा अस्पतालमा आधारीत लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र (ocmc) मा सम्पर्क गर्न स्थानीय तहका उपप्रमुखहरुलाई आग्रह समेत गर्नुभयो ।
लैङ्गिक हिंसा पिडितलाई सर्वसुलभ र व्यवथ्ति रुपमा स्वास्थ्य उपचार तथा मनोपरामर्श सेवा प्रदानको साथै समन्वयको माध्यमबाट अन्य सेवाको व्यवस्थापन गरी लैङ्गिक हिंसालाई उचित सम्बोधन गर्नकालागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मुख्य कार्यान्वयन निकायको रुपमा जिम्मेवार हुनेगरी २०६८ साल मंसिर १२ गते मकवानपुरमा अस्पतालमा आधारीत लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र (ocmc) स्थापना भएको हो । केन्द्रबाट चालु आर्थिक वर्षमा हाल सम्म २६४ जनाले सेवा लिएका छन् । बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीलगायत जिल्लाका १० वटै स्थानीय तहका उपप्रमुखहरु, अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, अस्पतालमा आधारीत लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र (ocmc) की अमृता कुमारी श्रेष्ठलगायतको सहभागिता थियो ।