काठमाडौँ – नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रियसभा गृहमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर सभापतिमा पाँच जनाको उम्मेदवारी कायम भएको जनाएको छ ।
सभापतिका लागि उम्मेदवारी दर्ता गराउनुभएका एक जना युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएपछि अब सभापतिमा पाँच जनाको उम्मेदवारी कायम भएको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सभापतिमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा, नेताहरू डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरूङबीच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी, दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ जना र ८ जना सह महामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा रहनुभएको निर्वाचन समितिले जनाएको छ । दुई जना उपसभापतिका लागि नेताहरू पूर्णबहादुर खड्का, विजयकुमार गच्छेदार, सुजाता कोइराला, महेश आचार्य, डा.चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह प्रतिस्पर्धामा रहनुभएको छ ।
यसैगरी, दुई जना महामन्त्रीका लागि नेताहरू प्रकाश शरण महत, प्रदीप पौडेल, गगन थापा, डा.मिनेन्द्र रिजाल, डा.राजाराम कार्की र विश्वप्रकाश शर्मा प्रतिस्पर्धामा रहनुभएको छ । शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराउनुभएको थियो । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिनुभएका दुई जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका ५५ जनाले मनोनयन फिर्ता लिनुभएको निर्वाचन समितिले जनाएको छ । काँग्रेसको नयाँ नेतृत्व चयन गर्नका लागि भोलि बिहान ८ बजेदेखि मतदान हुनेछ । मतदान सम्पन्न भएपछि सुरुमा सभापतिको मतगणना हुने नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताउनुभयो । सभापतिमा दुईभन्दा बढी उम्मेदवार हुँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मदवारबीच फेरि चुनाव हुने नेपाली काँग्रेसको विधानमा व्यवस्था रहेको छ । सभापतिको टुङ्गो लागेपछि मात्र अरू पदका लागि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारको अन्तिम नामावली :