काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका शेरबहादुर देउवाले आगामी निर्वाचनबाट तीन तहका काँग्रेसका सरकार बनाउन आफू लागेको बताउनुभएको छ । नेपाल महिला सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आगामी तीनै तहका निर्वाचनमा विजय प्राप्त गर्ने काँग्रेसको लक्ष्य रहेको बताउँदै त्यसका लागि आफू लागि परेको उल्लेख गर्नुभयो । साथै उहाँले आफूलाई सभापतिमा पुनः विजयी गराउन पनि सबैलाई आग्रह गर्नुभयो । पार्टीको १४औँ महाधिवेशनमा उहाँले सभापति पदमा उम्मेदवारी दिनुभएको छ ।
महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि मतदान हुँदैछ । प्रधानमन्त्री देउवाले काँग्रेसले पार्टीमा महिला सहभागितालाई उच्च स्थान दिएको उल्लेख गर्दै विधानमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको बताउनुभयो । पार्टी विधानमा महिलासहित अन्य समावेशीको सहभागिता सुनिश्चित गरिएको बताउँदै उहाँले यस्तो समावेशी पार्टी अरू कोही नभएको जानकारी दिनुभयो । उहाँले पार्टीमा महिला सहभागिता बढाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले काँग्रेसको नेतृत्वमा समावेशी व्यवस्थासहितको संविधान जारी गरिएको बताउँदै संविधानले राज्यका उच्च पददेखि सबै निकायमा महिला सहभागिता सुनिश्चित गरेको बताउनुभयो । साथै उहाँले स्थानीय सरकारमा ४१ प्रतिशत सहभागिता प्रतिनिधित्व भएको जानकारी गराउनुभयो । रासस