मकवानपुर – नेपाली कांग्रेसको १४ ओैं अधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिकालागी तीन जनाले उमेद्धवारी दर्ता गराउनुभएको छ । बिहीबारबाट सुरु भएको अधिवेशनमा शुक्रबार शेरबहादुर देउवा समुहबाट ईन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल पक्षबाट जगदिश नरसिंह केसी र कृष्णप्रसाद सिटौला समुहबाट भीनसेनदास प्रधानले सभापतीमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
केसीले शुक्रवार बिहान, बानियाँ र प्रधानले दिउँसो सभापतिको लागि उम्मेद्वारी दर्ता गराउनु भएको प्रदेश निर्वाचन समितिका संयोजक केशव प्रसाद काफ्लेले जानकारी दिनुभयो । यसअघि प्रदेशको राजधानी हेटौंडामा पत्रकार सम्मेलन आयोजन गरी बिहिबार साँझ केसी र शुक्रबार बाँनियाले आ–आफ्नो नेतृत्वमा प्यानल घोषण गर्नुभएको थियो ।
नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनमा जगदिश नरसिंह केसी नेतृत्वको समुहबाट उप–सभापतीहरुमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी हुनुहुन्छ, भने, महामन्त्रीहरुमा कञ्चनबादे श्रेष्ठ र माईकल रामचन्द्र अर्याल रहनुभएको छ ।
त्यस्तै ईन्द्रबहादुर बाँनिया नेतृत्वको समूहबाट उप–सभापतिमा भक्तपुरका मदनकृष्ण श्रेष्ठ र काठमाडौंका धर्मराज गौतम, महामन्त्रीमा काठमाडौंका राजु श्रेष्ठ र धादिङका तिलक रुवाली, सह–महामन्त्रीमा सिन्धुपाल्चोक हरिशरण श्रेष्ठ, नुवाकोटका महेन्द्र थिङ र ललितपुरका निरु खड्काले उमेद्वारी दिनु भएको छ ।
अधिवेशनमा शुक्रबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका रहेको थियो । भने, दिउँसो ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार पहिलो नाम प्रकाशित गर्ने र साँझ ४ बजेदेखि ५ बजेसम्म मनोनयद फिर्ता लिने साथै साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका भए पनि अझै नामावली सार्वजनीक हुन सकेको छैन् ।
निर्वाचन समितिका अनुसार भोलि मंसिर १८ गते बिहान ९ बजेदेखि मतदान हुनेछ । महाधिवेशनमा करिब २ हजार १ सय प्रदेश प्रतिनिधिले मतदान गर्नेछन् । अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिने जनाईएको छ ।