मकवानपुर – बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत) समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे नियुक्त हुनुभएको छ । पाण्डे नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।
नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार प्रदेश प्रमुख शर्माले पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को बागतमी प्रदेश संसदीय दलको नेता हुनुहुन्छ । उहाँ बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्नुभएको हो ।

बागमती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि अल्पमतमा पर्नुभएकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिनु भएको थियो । हिजो बुधवार यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीको बागमती प्रदेशका संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्री पाण्डेले आजै प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेर पदभार समेत सम्हाल्नुका साथै तीन आजै सानो आकारको मन्त्रिपरिषद् समेत गठन गर्नुभएको छ । गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनालले मन्त्रीको शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रिहरुले पनि आजै प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच मुख्यमन्त्री पाण्डेसँगै शपथग्रहण गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारीसमा भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।