मकवानपुर- बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री चुनिने भएको छ । हिजो बुधवारको प्रदेशसभा बैठकमा एमालेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आज बिहीवार नयाँ मुख्यमन्त्री सहित नयाँ मन्त्रिमण्डल विस्तार हुन लागेको हो । आज दिउँसो मुख्यमन्त्री र ३ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ ।
आज दिउसो ३ बजे प्रदेश प्रमुखको कार्यालयमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम रहेको जनाएको छ । पाण्डेको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीतिक दलले समर्थनसहित हिजै हस्ताक्षर गरी दाबी पत्र बुझाइएको थियो । गठबन्धनका तर्फबाट दलका उप नेतालाई मन्त्रीको जिम्मेवारी दिन लागिएको छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट दलकी उप–नेता कुमारी मोक्तान, काँग्रेसका उप–नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादीका उप–नेता कृष्ण खनाललाई जिम्मेवारी दिन लागिएको छ । माओवादीले आर्थिक मामिला, काँग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको बुभिएको छ ।