मकवानपुर – बागमती प्रदेशलाई देशकै पहिलो साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । सामाजिक विकास मन्त्रालयमा सोमबार एक समारोहकाबीच मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पहिलो साक्षर प्रदेश घोषणा गर्नुभएको हो ।

प्रदेशका ९७ दशमलव २२ प्रतिशत जनसंख्या साक्षर भएको आधारमा मुख्यमन्त्री शाक्यले बागमती प्रदेशलाई देशमै पहिलो साक्षर प्रदेशका रुपमा घोषणा गर्नुभएको हो । साक्षर बागमती प्रदेश घोषणा २०७८ लेखिएको स्तम्भ सार्वजानिक गर्दै उहाँले प्रदेशभर शिक्षाको अभियान चलाउनुका साथै साक्षर हुनुभन्दा साक्षरतामा निरन्तरता दिनु पर्ने देखिने बताउनुभयो । भौगोलिक विकटता रहेको प्रदेशमा चुनौतीहरु केहो र त्यसलाई ध्यानदिएर स्थानीयतह देखी कार्यदिशा प्रस्ट बनाई काम गरिनुपर्ने बताउनुभयो । अरु प्रदेशले पनि प्रेरणाको रुपमा लिन सकोस् भन्ने हेतुले योजनाबद्ध रुपमा काम गर्न आग्रह गर्नुभयो । साक्षरता घोषणामा मात्र सिमित नहोस बाकीँ रहेका झण्डै पचास हजार नेपालीहरु साक्षर हुन सरकारले आवश्यक समन्वय र साथ रहनेसमेत बताउनुभयो । घोषणा कार्यक्रममा मुख्यमन्त्री शाक्यलगायत मन्त्रीहरुले सामाजिक विकास मन्त्रालय परिसरमा शिक्षाको प्रतिकको रुपमा १३ वटा विरुवा समेत रोप्नुभएको थियो ।

१५–६० उमेर समूहको साक्षरता रहेको भन्दै गत २०७१ असार २ गते सिन्धुपाल्चोक जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा यही असोज ४ गते काठमाडौं जिल्ला साक्षरता घोषणा भए सँगै प्रदेश साक्षरता घोषणा गरिएको हो । प्रदेशमा साक्षर जिल्ला घोषणा हुदाँ १५–६० उमेर समूहका १६ लाख ३४ हजार १६७ निरक्षर मध्ये १५ लाख ८८ हजार ८२२ साक्षर भएका छन् । जुन ९७ दशमलव २२ प्रतिशत रहेको छ । प्रदेशमा अब ४५ हजार ३४५ जना निरक्षर रहेको शिक्षा विकास निर्देशनालयका कामु निर्देशक चन्द्रप्रसाद लुईटेलले बताउनुभयो । उहाँले प्रदेश भित्र बसोबास गर्ने १५–६० उमेर समूहका व्यक्तिहरुको साक्षरता प्रतिशत ९५ वा सो भन्दा माथि भए पश्चात प्रदेश साक्षर घोषणा गर्न सकिने बताउनुभयो ।

साक्षरता कार्यक्रम गर्दा विभिन्न मापदण्डमा रहेर तथ्याङ्क संकलन गरी जिल्लातहमा रहेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइले स्थानीय तहबाट काम गरी प्रदेश घोषणा गरिएको जनाइएको छ । प्रदेशका १३ जिल्ला मध्ये ललितपुरमा सत्प्रतिशत साक्षरता रहेको र कम साक्षरता दोलखा(९५.३७ प्रतिशत) रहेको छ । शिक्षा विकास निर्देशनालयका अनुसार धादिङमा ( ९८.४०), मकवानपुरमा ( ९८.९७), चितवनमा (९७.५०), नुवाकोट ( ९८.१९), भक्तपुरमा (९६.७०), रामेछापमा (९६.४०), सिन्धुलीमा (९९.१३), रसुवामा (९६.२९), काभ्रेपलान्चोकमा (९६.४८) काठमाडौंमा (९६.८८) र सिन्धुपाल्चोकमा (९७.६८) प्रतिशत साक्षरता रहेको छ ।

अब प्रदेश सरकारले प्रदेशभित्र बाँकी निरक्षरहरुलाई साक्षर गराउन स्थानीय तहसँगको सहकार्यमा जिवन र जगतको बोध, दैनिक जीवनका सीपको विकास र ज्ञान प्रस्फुटनको लागी विश्वव्यापी, ज्ञान, सीप, प्रविधि र सिकाइमा रहेर साक्षरता बनाउनपर्ने निर्देशक लुइटेलले बताउनुभयो । उहाँले घोषणा सँगै दिगो साक्षरताको, प्रणाली सुधार र एकीकृत प्रणाली स्थापनाको चुनौती रहेको बताउनुभयो । सामाजिक विकास मन्त्री विजय सुवेदीको अध्यक्षतामा भएको प्रदेश सरकारका मन्त्री, प्रदेश प्रमुख सचिव, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लागत शिक्षा ईकाइका प्रमुख तथा शिक्षकहरुको उपस्थिती रहेको थियो । सोही अवसरमा १३ वटै जिल्ला समन्वय समितिलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।