हेटौडा – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्काउट राजनीतिभन्दा माथि उठ्नु पर्नेमा जोड दिनु भएको छ । बागमती प्रदेश स्काउट तदर्थ समितिको दीक्षान्त एवम् पद तथा गोपनीयताको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अष्टलक्ष्मी शाक्यले स्काउटले राजनीतिभन्दा माथि उठेर सेवाको क्षेत्रमा काम गर्नुपर्ने बताउनु भएको हो ।

‘स्काउट विना स्वार्थ निष्पक्ष भावनाका साथ काम गरिरहेको संस्था हो’, समारोहमा शाक्यले भन्नुभयो, ‘संरक्षकको नाताले मुख्यमन्त्री कार्यालय एवम् प्रदेश सरकारबाट सकिने सहयोग गर्न सधैँ प्रतिबद्ध छु ।’ स्काउटले समाजमा भएका हिंसा तथा असमानता कम गर्न भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । समारोहमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले पनि स्काउटको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी ढङ्गमा काम गर्नुपर्ने बताउनु भयो । समारोहमा स्काउटका प्रदेश संरक्षक, स्थानीय संरक्षकलगायत दीक्षित हुनुभएको छ ।