मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको समतामूलक विकासका लागि तत्कालै ‘शुसासन तथा समाजवाद उन्मुख कार्यक्रम’ ल्याउने घोषणा गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा हेटौंडा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएकोले यसै अनुसार काम गर्न लागिएको बताउनुभयो ।

समाजिक आर्थिक बिकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण लक्ष्य प्राप्तिका लागि सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अंङ्ग र आमनागरिकहरु समेत क्रियाशील हुन आवश्यक रहेको मुख्यमन्त्री शाक्यको भनाई थियो । आजको दिनले बागमती प्रदेशवासीलाई नेपालको संविधानका मूल्य र मान्यताहरु आत्मसाथ गरी अघि बढ्दै संविधानको पूर्ण पालना गर्न आफुरु प्रतिवद्ध रहेको शाक्यले बताउनुभयो । महिलासहितको समानुपातिक समावेशीको माध्यमबाट संघ, प्रदेश र स्थानीय तहको सहमति, सहकार्य र सहअस्तित्वलाई अँगाल्दै समृद्धि प्राप्त गर्ने तर्फ प्रदेश आगाडी बढेको शाक्यले बताउनुभयो ।













