मकवानपुर – बागमती प्रदेशका १२ सांसदले नेकपा एमाले पार्टी परित्याग गर्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएकाे छ । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका १२ सांसदले पार्टी विभाजनसँगै औपचारिकरुपमा मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गर्नुभएकाे हाे ।
निर्वाचान कार्यालयका अनुसार मंगलबार सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्ण शर्मा खनालले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गर्नुभएकाे हाे । सांसद राजेन्द्र पाण्डेका अनुसार अझै केही सांसदहरु थपिने छन् । ‘हामी पहिलो चरणमा जम्मा भएका साथीहरुले सनाखत गरेका हौं । अझै साथीहरु थपिनुहुनेछ,’ पाण्डेले भन्नुभयो । उहाँले नवगठित पार्टीमा बागमती प्रदेशका २१ जना सांसदहरु रहेको दाबि गर्नुभयो । १२ जना सांसदहरुले नयाँ दल रोजेसँगै बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै उहाँले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ ।
नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी, चर्चामा इन्द्र बानियाँ
यसैबीच नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ ।
१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्नुभएको थियो । तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत बन्यो । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।
मंगलबार एमालेका १२ सांसदले निर्वाचन आयोगको प्रदेश कार्यालय गएर एकीकृत समाजवादी रोजेको जानकारी दिएका छन् । ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं,’ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भन्नुभयो” ‘त्यो दिनदेखि सरकार अल्पमतमा प¥यो ।’ सरकार जोगाउने कुनै बाटो नभएको भन्दै उहाँले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभयो । मुख्यमन्त्रीको उम्मेदवार को भन्ने प्रश्नमा पाण्डेले भन्नुभयो, ‘पार्टीले मलाई नै अगाडि सारेको छ । सत्तारुढ गठबन्धनमा पनि म सबैको सहमतिको उम्मेदवार हुँ ।’
यता बामगती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता इन्द्र बहादुर बानियाँ आउने सम्भावना बढेको छ । सत्तारुढ गठबन्धनभित्र प्रदेश–१ र बागमती प्रदेशमा सत्ता बाँडफाँटसम्बन्धी छलफल शुरु भएको र छिट्टै निर्णयमा पुग्ने सम्भावना बढेको हो ।
प्रदेश–१ मा एमालेबाट विभाजित दल नेकपा (एकीकृत समाजवादी) र बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसले लिने ‘सैद्धान्तिक सहमति’ बनेको छ । यो सँगै संसदीय दलको नेता समेत रहनुभएको इन्द्र बहादुर बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना बढेको हो ।