काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस भएको छ । आजदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी प्रतिवेदनमा भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण, असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला, असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन, मङ्सिर १५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका तय गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको र समूहगत छलफलपछि भोलि बस्ने केन्द्रीय कमिटी बैठकले अन्तिम निर्णय लिने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।