हेटौंडा – नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कमिटि बैठकले ९ जनालाई पार्टी साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । शनिबार बसेको बैठकले पार्टी हित बिपरित कार्य गरेको भन्दै स्थानीय पार्टी कमिटिले गरेको सिफारिसको आधारमा ९ जनालाई पार्टी साधरण सदस्य समेत नहरने गरी निष्काशन गरेको हो ।
कारबाहीमा पर्नेहरुमा बकैया गाउँपालिका कमिटि सदस्य सुनिल दर्लामी, थाहा नगरपालिका कमिटि सदस्य राजुमैया कार्की, कैलाश गाउँपालिकाका सदस्य एक बहादुर आले, कैलाश गाउँ कमिटि सदस्य सानुभाई विष्ट र हेटौंडा उपमहानगरपालिका कमिटि सदस्य दिपक खड्का, उत्सव चौँलागाई, शालिक ढकाल, बागमती गाउँपालिका सदस्य केशल तिमल्सिना भएको नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख कमान सिंह पाख्रिनले बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता भएको बैठकले जिल्ला कमिटि सदस्य जय बहादुर वाईबालाई पार्टी प्रदेश कमिटिमा कारबाहीको लागि सिफारिस गरेको छ । बैठकले पार्टी केन्द्रीय सर्कुलर अनुसार साउन २९ गते सम्मा वडा भेला, प्रशिक्षण र बैठक सकाउने निर्णय गरेको प्रचार विभाग प्रमुख कमान सिं पाख्रिनले जानकारी दिनुभयो । बैठक जिल्ला पार्टी अध्यक्ष प्रेम बहादुर पुलामीको अध्यक्षतामा भएको थियो ।