हेटौंडा – अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसर सप्ताहव्यापी कार्यक्रमको आयोजना हुने भएको छ । बागमती प्रदेश अन्तर्गत प्रदेश युवा परिषद्ले अगष्ट १२ तारिख अर्थात साउन २८ गतेदेखि एक हप्ता विभिन्न कार्यक्रम आयोजना गरि युवा दिवस मनाउन लागेको हो ।
आइतबार प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले कार्यक्रमका विषयमा जानकारी दिनुभएको हो । ‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भुमण्डलिय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो । उहाँको अनुसार साउन २८ गते बागमती प्रदेशका मुख्यमनत्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा परिषद्को कार्यालयको उद्धाटन हुनेछ । २९ गते जिल्ला युवा समिति मकवानपुरसँगको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिने छ भने ३० गते मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा ५ किलोमिटर दौड प्रतियोगिता हुने उपाध्यक्ष चौलागाईले बताउनुभयो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन ३१ गते बालकल्याण समाज मकवानपुरको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रमबाट जोगाउ विषयमा तथा साउन ३२ गते शिक्षाको लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । छैठौं कार्यक्रमको रुपमा भदौ १ गते हेटौंडा लेडी जेसिजको समन्वयमा बक्तत्वकला कार्यक्रमको आयोजना हुने र भदौ २ गते समापन कार्यक्रमको आयोजना गरिने पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम आयोजना गर्नका लागि प्रदेश युवा परिषद्ले कार्यकारी उपाध्यक्षको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको जनाइएको छ । प्रदेश युवा परिषद् गठन भएपछि पहिलो कार्यक्रमको रुपमा कार्यक्रम आयोजना हुन लागेको बताउनुहुँदै उपाध्यक्ष चौलागाईले कोरोना संक्रमणका कारण स्वास्थ्य मापदण्डका सबै नियमहरु पालना गरी कार्यक्रम हुने जानकारी दिनुभयो । सन् २००० देखि विश्वका विभिन्न मुलुकमा युवा दिवस मनाउन थालिएको भएपनि नेपालमा भने सन् २००४ देखि मनाउन सुरु भएको हो ।