मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले समाज र देशलाई फाइदा दिने गरि नयाँ परिकल्पनामा आधारित रहेर गरिएका बैज्ञानिक खोजलाई सहयोग गर्न बागमती सरकार तयार रहेको बताउनुभएको छ । बिहिबार सामाजिक बिकास मन्त्रालयद्धारा हेटौंडामा आयोजित बागमती प्रदेशको युवा बैज्ञानिक कोषको परियोजना समिक्षा कार्यक्रममा बोल्दै नव वैज्ञानीक खोजलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको हो । मुख्यमन्त्री पौडेलले देश र जनतालाई प्रत्यक्ष लाभ दिने बैज्ञानिक खोजमा लाग्न युवा बैज्ञानिकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सामाजिक बिकास मन्त्री सरस्वती बस्नेतले बागमती प्रदेशको युवा बैज्ञानिकहरुलाइ अन्य प्रदेशले अनुसरण गर्न लायक तवरले काम गर्न सुझाव दिनुभयो । उहाँले आजको समयमा बैज्ञानिक खोजले नै आर्थिक तथा सामाजिक बिकास सम्भव भएकोले प्रदेश सरकारले युवा बैज्ञानिकहरुलाई प्राथमिकता दिने बताउनुभयो ।
कार्यक्रममा कोषद्धारा सञ्चालित अनुसन्धान परियोजनामा नेतृत्व गरिरहेका युवाहरुद्धारा आफ्ना बैज्ञानिक अनुसन्धान परियोजनामा भएका उपलब्धि र अवस्थाबारे प्रस्तुति गरेका थिए । युवा बैज्ञानिक नवप्रबर्तन परियोजना अन्र्तगत सञ्चालित ५ वटा परियोजनालाई २ करोड १० लाख २८ हजार रुपैयाँ बजेट छुट्याएकोमा हालसम्म ८७ लाख २० हजार रुपैया खर्च भएको सामाजिक बिकास मन्त्रालयले जनाइएको छ । सामाजिक बिकास मन्त्रालयले युवा बैज्ञानिक पहिचान र प्रोत्साहन कोषका लागि यस बर्ष ५ करोड रुपैया बिनियोजन गरेको छ ।
कार्यक्रममा सामाजिक बिकास राज्यमन्त्री रामकुमार अधिकारी, प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर यमुना कँडेल, सामाजिक बिकास मन्त्रालयका सचिव यज्ञ प्रसाद ढुंगेल, युवा बैज्ञानिक प्रोत्साहन कोषका सदस्य डाक्टर निलम सुवेदी, कोषका सदस्य डाक्टर गिरीराज त्रिपाठी, लगायतले मन्तव्य राख्नुभएको थियो ।











