मकवानपुर – कोरोना बिरुद्धको खोपको ब्यबस्थापन, कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको बिषयमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठबिच छलफल भएको छ । बुधबार भएको भेटघाटमा बागमती प्रदेशलाई कोराना खोप उपलब्ध गराउनेबारे छलफल भएको छ ।
भेटमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले खोप खरिदको लागि २ अर्ब बजेट विनियोजन गरेको जानकारी गराउनुहुँदै सहकार्यको लागि स्वास्थ्य मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभएको छ । यस्तै भेटमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्र तथा प्रयोगशालाको बिषय, किटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको वर्तमान कार्यक्षेत्र र क्षमता विस्तार गरी बागमती प्रदेश सरकार अन्तर्गतको (मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान) संरचनामा संचालन अनुमतिलगायत विषयमा छलफल भएको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले बताउनुभयो । सो क्रममा वास्थ्य मन्त्री श्रेष्ठले मुख्यमन्त्री पौडेलले गर्नुभएको प्रस्ताव सकारात्मक रहेको बताउनुभएको उहाँले जानकारी दिनुभयो ।