मकवानपुर – बागतमती प्रदेश सरकारले अपाङ्गता भएका ४९ जनालाई अपाङ्ग सहायक सामग्री वितरण गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले बुधबार एक कार्यक्रमका बिच राष्ट्रिय अपाङ्ग कोषसँगको साझेदारीमा ४९ जना अपाङ्ग भएका व्यक्तिहरुलाई १० लाख रुपैयाँ बराबरको अपाङ्ग सहायता सामग्री वितरण गरेको हो ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले ४९ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर, वाकर, कृतिम खुट्टा, सेतो छडीलगायतका सामग्रीहरु वितरण गर्नुभएको हो । सहायता सामग्री वितरण गर्नुहुँदै सामाजिक विकास मन्त्री बस्नेतले अपाङ्गता भएका व्यक्तिको सीप विकास गर्दै आर्थिक तथा सामाजिकरुपमा सक्षम बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । उहाँले अपाङ्गता भएका व्यक्तिहरुले पनि सिप र क्षमता अनुसारको आर्थिक क्रियाकलाप गर्न सक्ने वातावरण बनाउने तथा त्यसका लागि आवश्यक कार्यक्रमहरु बजेटमा राखेको समेत बताउनुभयो । मन्त्री बस्नेतले अपाङ्गता भएका व्यक्तिलाई आर्थिकरुपमा सक्षम बनाउन सिपमूलक विविध कार्यक्रममार्फत मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रदेशका एकसय जनालाई सहायता सामग्री वितरण गरिने कार्यक्रम अन्तरगत बुधबार ४९ जनालाई सहायता सामग्री वितरण गरिएको तथा अन्यलाई प्रत्येक जिल्लामै उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, राष्ट्रिय अपाङग कोषका सभापति रमेश लामालगायतले मन्तव्य राख्नु भएको थियो । सामाजिक विकास मन्त्रालयको आयोजनामा एवम् राष्ट्रिय अपाङग महासंघको समन्वयमा भएको कार्यक्रममा सहभागीहरुले परिवारमा अपाङ्गता भएको व्यक्तिलाई सबलाङ्ग व्यक्तिलाई भन्दा फरक व्यवहार गर्ने गरेको तथा घरभित्रै राख्ने गर्दा पछाडि पर्ने गरेको बताएका थिए ।