मकवानपुर– बागमती प्रदेश सभाको छैठौं (बजेट) अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनका लागि आज दिउसो २ बजे प्रदेश सभा बैठक आव्हान गरिएको छ । अधिवेशनको पहिलो दिन आज आगामी आर्थिक वर्षको बजेटको लागि प्रस्तुत गरिने आर्थिक पक्षको सैद्दान्तिक विषयमा छलफलको लागि विधेयक प्रस्तुत हुने छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारद्वारा आगामी आवको बजेटको लागि प्रस्तुत गरिने आर्थिक पक्षको सैद्दान्तिक विषयमा छलफलको लागि विधेयक प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त आर्थिक विधेयकमाथि आज १२ र १३ गते छलफल हुने समेत सचिवालयले जनाइएको छ ।
प्रदेशसभाको बैठकको लागि सभा कक्षमा सामाजिक दुरी कायम गरी बस्ने कुर्सीको र सेनिटाइजरको व्यवस्था मिलाइएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । सभामुख श्रेष्ठले आफुले कोरोना परीक्षण गरेको जानकारी दिँदै कोरोना परीक्षण गर्ने किटको अभाव भइरहेको समयमा हामिले अनिवार्य नगरेको बताउनुभयो । तर, प्रदेशसभाका कर्मचारी, मर्यादापालक सबैको कोरोना परीक्षण गरिएको उहाँले बताउनुभयो । धेरै सांसदले आफ्नै जिल्लामा कोरोना परीक्षण गर्नुभएको तथा केही सांसदहरुको हेटौंडामा परीक्षण गरिएको सभामुख श्रेष्ठले जानकारी दिनुभयो ।
यता, प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यका अनुसार पीसीआर नेगेटिभ रिपोर्ट नदेखाइकन प्रदेशसभाको हलमा छिर्न नपाउने नियम बनाइएको छ । प्रदेशसभा बैठकमा जाँदा मुख्य गेटमै कोरोना भाइरसको परिक्षणको नेगेटिभ रिपोर्ट देखाएपछि मात्र संसदमा छिर्न दिने नियम बनाउनुपर्ने केही सांसदको माग समेत गरेका थिए । प्रदेशसभाका सबै कर्मचारी, मर्यादापालकको हेटौंडा अस्पतालमा पीसीआर जाँच गरिएको उहाँले बताउनुभयो ।
प्रदेशका मन्त्री र केही सांसदहरुले भने आवश्यकताको आधारमा मात्र कोरोनाको परीक्षण गर्नुपर्ने माग गरेका छन् भने केहि प्रदेशसभा सांसदहरु बैठक जानु अगाडि पीसीआर गर्न दौडधूपमा लागेका छन् । प्रदेशसभाका बैठकको समाचार सम्प्रेषणको लागि संचारकर्मीहरुको लागि बस्ने छुट्टै कक्षको पनि व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताउनुभयो ।