नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको दाबी गर्नुभएको छ । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले आज शुक्रवार दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सधैँ प्रतिबद्ध रहेको महासचिव पोखरेलको भनाइ थियो । अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको उहाँले दाबी गर्नुभयो । देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने महासचिव पोखरेलले बताउनुभयो । ‘प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ’, उहाँले भन्नुभयो ।