मकवानपुर – मकवानपुरका दश वटै स्थानीय तहले प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधारसंगै अधुरा आयोजना, स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक क्षेत्रलाई प्रथमिक्ता दिईएको छ । बिहीबार जिल्लाका दशवटै स्थानीय तहले प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटमा कोभिड–१९ को असर न्युनिकरणसंगै पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगार, सामाजिक क्षेत्र एवम् अधुरा आयोजना सम्पन्न गर्ने कुरामा जोड दिईएको छ । जिल्लका १० स्थानीय तह मध्ये सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ६० करोड १५ लाख र सबै भन्दा कम ईन्द्रसरोवर गाउँपालिकाले ३८ करोड ४१ लाख बराबरको बजेट सार्वजनीक गरेको छ ।
बिहीबार जिल्लाको एकमात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा धेरै रकम सडक निर्माण, नाली निर्माण, सडक पेटी, कच्ची सडकलाई पक्की बनाउनेमा केन्द्रीत गरेको छ । नयाँ संरचना भएकाले भौतिक पूर्वाधार पआवश्यक पर्ने हुँदा धेरै बजेट पूर्वाधार बिकासका लागि खर्चगर्ने तयारी रहेको मेयर हरि बहादुर महतले वताउनुभयो । मकवानपुरमा सबैभन्दा बढी बजेट हेटौंडा उपमहानगरले ल्याएको छ । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २ अर्ब ६० करोड १५ लाख बजेट प्रस्तुत गरेको छ । जसमध्ये आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार खर्च व्यहोर्ने अनुमान गरिएको छ ।
जिल्लाको एक मात्र नगरपालिका थाहा नगरपालिकाले आगमी आर्थिक वर्षका लागि झण्डै एक अर्बको बजेट ल्याएको छ । थाहा नगरपालिकाले नयाँ कार्यक्रम भन्दा पनि अघिल्लो वर्षका कार्यक्रम र अधुरा योजनालाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष ०७८÷०७९ को लागि ९५ करोड ६४ लाख ३२ हजार रूपैयाँको बजेट सार्वजनीक गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि अन्तरिक स्रोत तर्फ ११ करा ८८ लाख ४९ हजार, राजश्व बाडँफाँड तर्फ १६ करोड ५३ लाख ४९ हजारको बजेट पेश गरेको हो । जसमध्ये चालु खर्चतर्फ रु ८ करोड ५७ लाख ४५ हजार र पुँजीगत तर्फ ४२ करोड ७५ लाख ८१ हजार, सशर्ततर्फ ३२ करोड ३१ लाख ६ हजार, सामाजिक सरुक्षा तर्फ १२ करोड गरी जम्मा ९५ करोड ६४ लाख ३२ हजार खर्च पेश भएको मेयर लबशेर बिष्टले जानकारी दिनुभयो ।
त्यस्तै मकवानपुरको उत्तरी क्षेत्र स्थित इन्द्रसरोबर गाउँपालिकाले सबैभन्दा कम बजेट प्रस्तुत गरेको छ । इन्द्रसरोबर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ मा सामाजिक विकास, आर्थिक विकास, रोजगार, कृषि र भौतिक पूर्वाधारलाइ प्राथमिक्ता दिएको छ । गाउँपलिका अध्यक्ष जीवन लामाका अनुसार गाउँपालिकाको नीति तथा कार्यक्रममा सडक पूर्वाधार बिस्तार र स्तरोन्नती, कृषि र पशु क्षेत्रको उत्पादन बृद्धि, बालमैत्री, अपाङ्गता मैत्री, वातावरण मैत्री, सरसफाई युक्त गाउँपालिका, आधारभूत तहको पूर्वाधारको सूूविधा, प्रविधियुक्त इन्द्रसरोवर बनाउने र स्वास्थ्य सेवाको विकास, विस्तार तथा प्रत्येक नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्ने अवसरको सुनिश्चितता गर्ने तर्फ केन्द्रित रहेको बताउनुभयो ।
त्यस्तै पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले आउँदो आथिक वर्ष २०७८÷०७९ को लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसाको बजेट सार्वजनकि गरेको छ । गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटमा बकैया २ कालापानी धियालमा रहेको युरेनियमलाई केन्द्र र प्रदेश सरकारसंगको समन्वयमा परीक्षणको कार्यलाई अगाडि बढाउने, खरको छानामुक्त गाँउपालिका निर्माणको लागि विपन्न वर्ग, द्वन्द्व पिडित, सहिद परिवार, सिमान्तकृत वर्गलाई प्राथमिकतामा राखेर जस्ताको छाना छाउने कार्यका लागि अनुदानको व्यवस्थालाई निरन्तरता दिइने लगायतका कार्यक्रमलाई पथमिकता दिईएको गाउँपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो । यस्तै पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आगामी वर्षको लागि ५३ करोड ६६ लाख ९३ हजार बजेट सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष सर्केस घलानले जानकारी दिनुभयो । विकट गाउँपालिका भएकाले पनि भौतिक पूर्वाधार र सडक प्रर्वाधार निर्माणलाई अधिक प्राथमिकता दिईएको उहाँले बताउनुभयो ।
त्यस्तै मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि जिल्लाका ८ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ । मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि ८३ करोड ६७ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले चालु र पुँजिगत कार्यक्रम तर्फ एकमुष्ट ८३ करोड ६७ लाख ४६ हजारको बजेट विनियोजन गरेको छ । अघिल्ला बर्षहरुमा संचालन गर्दै आएको निति तथा कार्याक्रमहरुलाई निरन्तरता दिई हालको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षका कार्यक्रम थप गरी बजेट ल्याईएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । यस्तै मकवानपुरकै बिकट राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ मा ५४ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । राक्सिराङ गाउँपालिकाले पनि आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा जोड दिइएको छ ।
त्यस्तै मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८–७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाँ बजेट ल्याएको छ । पालिकाको सातौँ गाँउसभामा आर्थिक वर्ष २०७८÷७९ को लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको हो । गाउँपालिकाले विनियोजन गरेको बजेटको पुँजिगत खर्च ३२ करोड ६९ लाख ४७ हजार र चालू खर्च २७ करोड ५ लाख ६० हजार रुपैयाँ रहेको छ । गढी गाउँपालिकाले पनि धेरैजसो रकम पूर्वाधार विकासलाई जोड दिँदै सामाजिक क्षेत्रलाई समेत प्राथमिकता दिएर बजेट सार्वजनीक गरेको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले वताउनुभयो ।
त्यस्तै मकवानपुरको बिकट कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ६६ लाख ९३ हजार रुपैयाको बजेट सार्वजनीक गरेको छ । बिहीबार गाउँपालिका अध्यक्ष टंक मोक्तानको सभाध्यक्षतामा भएको आठौं गाउँसभामा उपाध्यक्ष सुकुमाया थिङले आर्थिक वर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्षामा पूर्वाधारलाई विशेष प्राथमिक्ता दिँदै स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । यस्तै मकवानपुरको भीमफदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ६५ करोड ४१ लाख बराबरको बजेट सार्वजनीक गरेको छ । गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा आज भएको सातौ गाउँ सभामा उपाध्यक्ष पाबर्ती रानाले अघील्लो आर्थिक वर्षको अधुरा योजनालाई पूर्णता दिँदै पूर्वाधार, शिक्षा, स्वास्थ्य, स्वरोजगारका क्षेत्रलाई प्राथमिकता दिँदै आर्थिक बर्ष २०७८÷७९को निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।