आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष ०७९/८० को बजेट स्वीकृत गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।
आज जेठ १५ गते संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट प्रस्तुत गरिँदै छ । अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लाग्नुभएको हो ।
संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट भाषण हुन लागेको हो । सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित गरिसकेको छ । बजेट भाषण अगाडिको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बजेट प्रस्तुत हुने सङ्घीय संसदको संयुक्त बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि उपस्थित भइसक्न प्रतिनिधिसभा सदस्यलाई शनिबार नै अनुरोध गर्नुभएको थियो । सभामुखको अनुरोध अनुसार संघीय संसद् भवनमा संसद् प्रवेशगर्नेक्रम सुरु भएको छ । बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते आइतबार साँझ ६ बजे बस्नेछ ।