झण्डै चार घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाजको खोजी तीव्र पारिएको छ । पोखराबाट स्थानीय समयअनुसार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । त्यस पश्चात् उक्त जहाज सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यता, सम्पर्कविहीन विमानमा सवार आफन्तका परिवार पोखरा विमानस्थलमा जम्मा भएका छन् । नेपाली सेनाको हेलिकोप्टर खोजी तथा उद्धारका लागि जोमसोम तर्फ प्रस्थान गरिसकेको छ ।यसअघि जहाजको अवस्थाका बारेमा खोजतलासका लागि जोमसोम विमानस्थलबाट फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकामा प्रतिकूल मौसमका कारण उक्त हेलिकोप्टर पुनःजोमसोम नै फर्किएको थियो । स्थानीयवासीहरुका अनुसार लेलेभन्ने क्षेत्रमा सो जहाज ठोक्किएको हुन सक्ने जनाइएको छ । स्थलमार्गबाट खोजीकार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेको केन्द्रले जनाएको छ ।