मकवानपुर– मकवानपुरमा निजी क्षेत्रले भोली बिहीबारबाट चिकित्सकसहितको आइसोलेसन सञ्चालन गर्ने तयारी गरेको छ । मकवानपुर उद्योग वाणीज्य संघको नेतृत्वमा निजी क्षेत्र र सामाजिक संघसस्ंथाहरुले संयुक्त रुपमा निशुल्क आईसोलेसन सञ्चालन गर्ने तयारी गरेको हो ।
उद्योग वाणिज्य संघमा बुधबार बसेको बैठकले आईसोलेसन सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो । जिल्लामा कोरोना संक्रमितको दर बढ्दो रहेको र सङ्क्रमितहरूले अस्पतालमा स्थान नपाउने स्थितिलाई मध्यनजर गर्दै यहाँका निजी क्षेत्र र सामाजिक संघसस्ंथाहरुले आइसोलेसन केन्द्र सञ्चालन गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । “कोरोनाको प्रभाव बढ्दो छ, यस्तो अवस्थामा बिरामीले अस्पतालमा उपचार पाउने अवस्था छैन, हामीले सबैको सहकार्यमा आइसोलेसन सञ्चालनको तयारी गरेका हौं ।” उहाँले भन्नुभयो । सबैसंग सल्लाह गरेर अगाडी बढ्ने उहाँले बताउनुभयो ।
उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण व्यवसायी संघ, उपभोक्ता हित संरक्षण मञ्च, पुरानो नारायणी संघ, सामुदायिक प्रहरी सेवा केन्द्र, नारायणी यातायात कम्पनी प्रा.लि, लायन्स क्लब, होटल एशोसियसन, औषधी व्यवसायी संघलगायतका संघसंस्थाहरुले आइसोलेसन केन्द्र संचालन गर्न लागेका हुन् । आईसोलेसनमा कोरोना संक्रमितको लागि आवश्यक अक्सिजनको लागि साहारा ग्यासले समन्वय गर्ने भएको छ । जस अनुसार आजै साहारा ग्यासका अध्यक्ष शिव घिमिरेले संघलाई २५ सिलिण्डर अक्सिजन उपलब्ध गराएको कटुवालले जानकारी दिनुभयो ।