उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको गौशालामा निःशुल्क कोभिड आइसोलेसन केन्द्रको शुभारम्भ गर्नुभएको छ । मारवाडी सेवा समितिले काठमाडौँको गौशालामा सुरु गरेको आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले आज शुभारम्भ गर्नुभएको हो ।
मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शय्याको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराउनुभयो । उपप्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र सञ्चालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्नुहुँदै मारवाडी सेवा समितिको प्रशंसा गर्नुभयो । “कोभिड विरुद्धको लडाइँ हामी सबैले मिलेर लड्ने लडाइँ हो । यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभावकको भूमिका खेल्छ, तर यो लडाइँको मोर्चामा हामी सबै एक ठाउँमा उभिएर लड्नुपर्छ ।” उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।
तीन सय शय्यासम्म सञ्चालन गर्न सकिने यस आइसोलेसन केन्द्रलाई पूर्ण रुपमा सञ्चालन गर्न सिसिएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । एक बर्ष अघि कोभिडको पहिलो लहर चलेको बेला नेपालमा कोभिड परीक्षण गर्ने प्रयोगशाला नभएर विदेश पठाउन परेको अवस्था स्मरण गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो– “अहिले देशका ८६ ठाउँमा कोभिड ल्याब स्थापना गरेका छौंं, केन्द्रदेखि स्थानीय तहसम्म कोभिडको उपचार गर्ने अस्पताल स्थापना गरेका छौँ । दोस्रो लहरमा अक्सिजनको जोड जाममा कारण समस्या भएको छ । ठुला अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा हाहाकार सिर्जना भएको हो । हामी यो अभावलाई जति सक्दो चाँडो पूरा गर्न चाहन्छौँ ।” सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी प्रारम्भ र पहल थालिएको जानकारी दिनुभयो । उहाँले कोरोना विरुद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया प्रारम्भ गरेको बताउनुभयो । सात वटै प्रदेशमा सात वटा र काठमाडौँमा एउटा गरी एक हजार क्षमताका आठ वटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुटाइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।