मकवानपुर– जिल्ला प्रशासन कार्यालय मकवानपुरले सदरमुकाम हेटौंडामा पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्को बैठकको सिफारीसमा प्रमुख जिल्ला अधिकारीद्धारा बजार क्षेत्रमा निषेधाज्ञा पूर्णरुपमा जारी गर्ने निर्णय गरेको हो ।
प्रशासनले हेटौंडाको मुख्य बजार क्षेत्र पूर्वमा क्याम्पाडाडा, पश्चिममा राप्ति पुल, उत्तरमा चौकीटोल र दक्षिणमा कर्रा पुलसम्म औषधि पसल र अक्सिजन सिलिन्डर बिक्रि गर्ने पसलबाहेक कुनैपनि व्यवसाय संचालन गर्न नपाईने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार खाद्यान्न तथा फलफुल, तरकारी बजारमा अत्याधिक भिडभाड बढेपछी भोलिदेखि औषधि पसल र अक्सिजन सिलिन्डर बिक्रि गर्ने पसलबाहेक कुनैपनि व्यवसाय संचालन गर्न नपाईने जानकारी दिनुभयो । यस्तै उक्त क्षेत्रमा कुनैपनि कामको लागि बाहिर निस्कन नपाइने समेत उहाँले जानकारी दिनुभयो । यसअघि प्रशासनले मंगलबार र शुक्रबार दुई दिन बिहान ३ घण्टा खाद्यान्न र तरकारी पसल खोल्न पाईने निर्णय गरेको थियो । यस्तै आजको बैठकले खाद्यान्न तथा तरकारीहरु सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर टोल–टोलमा पुर्याउने व्यवस्था मिलाउने निर्णय भएकाे पाण्डेले जानकारी दिनुभयो ।
