मकवानपुर– हेटौंडामा शनिबार साँझ थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पुष्टि भई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षको भेन्टिलेटरमा उपचार गराइरहेका हेटौंडा–५ का ६५ वर्षीया एक पुरुष र बारा सिम्रौनगढका ३४ बर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस अघि हिजो पनि अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको थियो र योसँगै कोरोना पुष्टि भई हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ११ पुगेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले जानकारी दिनुभयो । यसअघि हेटौंडाका ५५ बर्षीय पुरुष, बारा अमलेखगन्जका ४६ बर्षीय एक पुरुष, महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिला, हेटौंडा–६ की ४१ बर्षीय एक महिला, बारा अमलेखगन्जका ५९ बर्षीय पुरुष, मकवानपुरगढी का ६८ बर्षीय एक पुरुष, रौतहट चपुरका ३८ वर्षीय एक पुरुष, हेटौंडा–४ का ३७ वर्षीया एक महिलाको र हेटौंडा–७ का ४० बर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।
