काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज साँझ बुढानीलकण्ठ निवासमा भएको भेटमा संसद्मा आफूलाई विश्वास मत दिन आग्रह गर्नुभयो ।
यही वैशाख २७ गते विश्वासको मत प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बस्दै छ । यस्तै सभापति देउवाले कोरोना भाइरसको संक्रमण भयावह भएकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । भेटवार्तामा एमालेका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा तथा काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री द्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र सह महामन्त्री डा महत सहभागी हुनुहुन्थ्यो । काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मङ्गलवार बसेको बैठकले प्रधानमन्त्री ओलीले संसद्मा लिने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो ।