मकवानपुर– मकवानपुरे कलाकार, नाट्यकर्मी, सर्जक तथा गायक आशाकाजी श्रेष्ठको दुईवटा नयाँ गीत विमोचन गरिएको छ । लामो समयदेखि मकवानपुरमा रहेर कलाकारीता क्षेत्रमा कृयाशील श्रेष्ठको “जुरु जुरु छ नेपालमा भन्दै केपि बा” र डाँडामाथि चौतारी बोलको दुईवटा गीतको बिहीबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले विमोचन गर्नुभएको हो ।

बिहीबार एक कार्यक्रमका बिच जिसस प्रमुख खुलालले श्रेष्ठको रचना र स्वर एवम् गायीका रेश्मी कार्कीको स्वरमा रहेको “जुरु जुरु छ नेपालमा भन्दै केपि बा” बोलको र रचना तथा स्वर दुवै श्रेष्ठकै रहेको डाँडामाथि चौतारी बोलको गीत बिमोचन गर्नुभएको हो । गीतको म्युजिक भिडियो ‘मामा भाञ्जा प्रोडक्सन’ को अफिसियल युट्युब च्यानलमार्फत बिहीबारै सार्वजनिक समेत गरिएको छ ।

विमोचन कार्यक्रममा जिसस प्रमुख खुलालले दुवै गीत निकै राम्रो रहेको प्रतिकृया दिनुभयो । उहाँले गीत संगीतको माध्यमले समुदायलाई परिर्वतन गर्न सक्ने हुँदा यस तर्फ कलाकारहरुले ध्यान दिनुपर्ने बताउनुभयो । मकवानपुरका विभिन्न रमणीय स्थानहरुमा म्युजिक भिडियो छायाँकन गरिएको उक्त गीतले पर्यटन क्षेत्रहरुमा समेत टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । करिब ४ दशकभन्दा लामो समयदेखि मकवानपुरबाट कला क्षेत्रमा लाग्नुभएका गायक आशाकाजी श्रेष्ठ नाट्यकर्मी, सामाजिक अभियान्ता र सर्जक समेत हुनुहुन्छ ।