मकवानपुर–जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले बिहीबार मनहरी गाउँपालिकाले संचालन गर्न लागेको आईसोलेसन केन्द्रको अनुगमन गर्नुभएको छ । जिल्लामा नयाँ भेरियन्टको कोभिड–१९ को प्रकोप बढ्दै गएको अवस्थामा स्थानीय तहहरुको तयारीका बारेमा जानकारी लिने उदेश्यका साथ प्रमुख खुलालले आइसोलेसन केन्द्रको अनुगमन निरिक्षण गर्नुभएको हो ।

प्रमुख खुलालले गाउँपालिकाले यस अघि सञ्चालन गरेको २४ शैयाको कोभिड अस्थाई अस्पतालको अनुगमन गर्नुका साथै कोभिड रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले गरेको तयारीका विषयमा अध्यक्ष एकराज उप्रेतीसंग जानकारी समेत लिनुभएको थियो । गाउँपालिकाले यसअघि २४ शैयाको सुविधासम्पन्न कोभिड अस्थाई अस्पताल नै सञ्चालन गरेको थियो । जिल्लाका स्थानीय तहहरुमा कोभिड रोकथाम तथा नियन्त्रणको तयारीका विषयमा हिजो मकवानपुरगढी पुग्नुभएका प्रमुख खुलाल आज मनहरी गाउँपालिका पुग्नुभएको हो ।
अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष उप्रेतीले गाउँपालिकाले पहिले संचालन गरेकै स्थानमा पुन अक्सिजनसहितको आईसोलेन सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो । सामग्रीहरु सबै पहिलेकै रहेको बताउँदै उहाँले अबको एकदुई दिन भित्रै आईसोलेसन सञ्चालनमा आउने बताउनुभयो । सम्पूर्ण तयारी भईसकेको छ अबको एक दुई दिनमा डाक्टर, अक्सिजन सहितको सुविधा सम्पन्न आइसोलेसन सञ्चालन हुने उहाँको भनाई थियो ।