नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा आज विभिन्न १३ समुहले आफ्नो सुझाव पेश गरेका छन् । काठमाडौमा हिजोदेखि सुरु भएको विधान अधिवेशनमा समुहगत रुपमा नेताहरुले बोल्नुहुँदै पार्टीलाई संघीयताको मर्मअनुसार सञ्चालन गर्न र पार्टी संरचनालाई छरितो र क्रियाशिल बनाउन सुझाव दिनुभएको माओवादी केन्द्रले जनाएको छ ।
यसरी सुझाव राख्ने नेताहरुले पार्टीमा पदाधिकारीसहितको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था गर्नुपर्ने, जातीय छुवाछूतलाई गम्भीर अपराधको रुपमा राख्नुपर्ने, घाइते तथा पूर्व जनमुक्ति सेनालाई विशेष व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिनुभएको छ ।
यस्तै माओवादी नेताहरुले पार्टी एकता, आन्तरिक मूल्याङ्कन र मनोनयनलाई व्यवस्थित गर्नुपर्ने, प्रदेश र स्थानीय पार्टी समितिलाई कार्यकारी बनाउने गरी विधान संशोधन हुनुपर्ने तथा अनलाइन मार्फत पार्टी सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था गर्न र पार्टीलाई प्रविधियुक्त बनाउन सुझाव बैठकमा प्रस्तुत गर्नुभयो ।
माओवादी केन्द्रले प्रस्तावित विधानमाथि छलफल गर्न हिजो विभिन्न २० वटा समूहहरू गठन गरेको थियो । ती २० समूहमध्ये आज १३ समूहले आ–आफ्नो समुहगत धारणा बैठकमा राखेको र भोलि बिहान ११ बजे पुनः बस्ने बैठकमा बाँकी समूहको धारणा राख्ने कार्यतालिका रहेको माओवादी केन्द्रका नेता देवप्रसाद गुरूङले जानकारी दिनुभयो ।