मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सकारात्कम सन्देश प्रवाह गर्न मकवानपुरका पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । मकवानपुरमा नयाँ भेरियन्टको कोभिड–१९ महामारीको प्रकोप बढ्दै गएको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भएका तयारीका सन्दर्भमा आयोजित पत्रकार सममेलनमा उहाँले नागरिकलाई जागरुक बनाउने साथै मनोबल बढ्ने खालका समाचार सम्प्रेसण गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा प्रमुख खुलालले मकवानपुरमा कोभिड १९ को रोकथाम तथा नियन्त्तणका लागि भएका तयारीका बारेमा समेत जानकारी दिनुभएको थियो । कोरोना (कोभिड–१९) को नयाँ भेरियन्टको दोश्रो चरणको संक्रमण बढी रहेकाले त्यसको रोकथामका लागि मकवानपुरमा अक्सिजन सहितको आइसोलेसन वार्डको तैयारी शुरु भएको बताउनुभयो । जिल्लाको १० स्थानीय तह मध्ये स्थान अभावका कारण भीमफेदीमा बाहेक सबैमा सो तैयारी गरिएको जानकारी दिनुभयो । उहाँले हेटौंडा उपमहानगरपालिकाले १ सय २० बेडको आइसोलेशन, बागमती गाउँपालिकाले १०, बकैया गाउँपालिकाले २० बेड, मकवानपुरगढी गाउँपालिकाले १५, इन्द्रसरोबर गाउँपालिकाले १२, थाहा नगरपालिकाले २० र थप २० गरि ४०, कैलाश गाउँपालिकाले १० तथा अवको एक हप्तामा प्रयोग हुने गरी राक्सीराङ गाउँपालिकाले २० बेडको आइसोलेशन तैयारी अवस्थामा राखेको जानकारी दिनुभयो ।

जिल्लामा बिरामीलाई अक्सिजनको कमी हुन नदिन त्यसको प्रबन्धमा आफूहरु लागिरहेको र संक्रमण तीब्र गतिमा भईहालेको खण्डमा हेटौंडा अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गरिने समेत उहाँले जानकारी दिनुभयो । उहाँले नयाँ भेरियन्टको कोरोना अझ तिब्र गतिमा फैलिएको हुँदा स्वास्थ्य सावधानी अपनाउन आम नागरिकलाई आग्रह गर्नुहुँदै यसमा पत्रकारहरुलाई समेत भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो । यस अघि प्रमुख खुलालले कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा सर्वपक्षिय सर्वदलिय छलफल गनूृका साथै सहकारी संस्था, गैरसरकारी संस्था, यातायत क्षेत्रलगायतसंग छलफल गर्नुभएको थियो ।