मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहिदले देखाएको बाटोमा अविराम अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ७१ औं प्रजातन्त्र दिवशका अवसरमा शुक्रबार प्रदेशको राजधानी हेटौंडामा आयोजित बिषेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सहिदहरुको बलिदानीबाट प्राप्त लोकतन्त्रको रक्षाका निम्ति प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले राजनीतिक अधिकार प्राप्तिको लागि लडुनुपर्ने अवस्थाको अन्त्य भएर सबैको एउटै कार्यभार विकास र समृद्धिको रहेको बताउनुभयो । उहाँले भन्न्ुभयो– राजनीतिक अधिकार प्राप्तिको लागि लडुनुपर्ने अवस्थाको अन्त्य भईसकेको छ । त्यसैले आज हामी सबैको एउटै कार्यभार हो, विकास र समृद्धि । राजनीतिक स्थिरता यसको पुर्वशर्त हो । समृद्धिको अभियानमा अहिले ठेस लागेको छ तर यात्रा रोकिएको छैन । यतिबेला देशको जीवनमा आईपरेको विषमताको बादल छिट्टै फाटिनेछ र ताजा जनादेश मार्फत पुनः राजनीतिक स्थिरता सहित समृद्धिको रथ थप उत्साह र गतिका साथ अगाडि बढ्नेछ भन्ने विश्वास सहित बागमति प्रदेश सरकारको तर्फबाट यस प्रदेशमा राजनीतिक स्थिरताको सन्देश सहित जनआकांक्षा पुरा गर्न सदैव प्रयत्नशिल र प्रतिबद्ध रहेको स्पष्ट पार्दछु ।”

उहाँले जनताको जीवनमा नदेखिने परिवर्तनको कुनै अर्थ नरहेको बताउँदै व्यवस्था बदलिने तर जनताको अवस्था नबदलिने विगतको नजिरलाई बदल्दा मात्र उज्यालो भविष्यको निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले हामी आफैँले आफ्नो पौरखको जगमा यो देशलाई बनाउनुपर्ने र समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्नुपर्ने बताउनुभयो । निर्दलिय पञ्चायति ब्यवस्था, संवैधानिक राजतन्त्र सहित बहुदलिय ब्यवस्था, निरङकुश राजतन्त्र हुदैं संघिय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा चुनौतिपुर्ण रहेको र आगामि यात्रा झनै चुनौतिपुर्ण रहेकाले यसलाई संस्थागतगत गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।